Thursday, July 3, 2008

युवती झुन्डिएपछी स्याङ्जामा तनाब

2008-06-22,Sunday ६ प्रहरी र तीन सर्वसाधारण घाइते १८ वर्षीया युवतीको झुन्डिएर मृत्यु भएपछि शनिबार स्याङ्जास्थित सिद्धार्थ राजमार्गमा दिनभर तनाव भएको छ । स्थानीयवासी र प्रहरीबीच विवाद बढेपछि भएको झडपमा ६ प्रहरीसहित नौजना घाइते भएका छन् । घाइतेमध्ये स्थानीयवासी विजय गुरुङको पोखरा तथा सुरज राना र ठाकुर गुरुङको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।पुतलीबजार नगरपालिका- १२ स्थित त्रिभुवन आदर्श उच्चमावि कक्षा ११ मा अध्ययनरत अञ्जु गुरुङको शुक्रबार साँझ झुन्डिएर मृत्यु भएको थियो । अञ्जुका आफन्तले उनले आत्महत्या गरेको नभई हत्या भएको आरोप लगाएका छन् । अञ्जुको हत्या भएको भन्दै उनका आफन्तले दिनभर प्रहरी कार्यालय घेराउ गर्दै हत्यारालाई कारबाहीको माग गरेपछि झडप भएको थियो । प्रहरीले भीड नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय वालिङबाट दिउँसो थप बल मगाएपछि उनीहरू पछि हटेका थिए ।पुतलीबजार- १ का लोकबन्धु ढकालसँग अञ्जुको प्रेम-सम्बन्ध रहेको र ढकालले दुई महिनाअघि सामाजिक परम्पराअनुसार अर्की युवतीसँग विवाह गरेको स्थानीयवासीले बताएका छन् ।लोकबन्धु र अञ्जुबीच पुनः सम्बन्ध स्थापित हुँदै गएको र परिवारले सो थाहा पाएपछि प्रेमी-प्रेमिका दुवै तनावमा रहेको स्थानीयवासीले बताए । गत साता उनीहरूले सँगै मर्ने पत्र लेखी जंगलमा विषसेवन गरेको र पोखरामा उपचारपछि बिहीबार फर्केका थिए । 'हामी मर्दैछौं, मुख हेर्ने भए आउनू' भन्दै परिवारलाई खबर गरेको र खोज्न जाँदा जंगलमा आधा-आधा बिर्को मेटासिड खाएको अवस्थामा भेटेपछि उनीहरूको उपचार गरिएको थियो ।बिहीबार घर फर्केपछि जिल्ला प्रहरी कार्यालय लगिएका लोकबन्धु र अञ्जुलेे सँगै बस्ने बताएपछि उनीहरूलाई आफन्तको जिम्मामा पठाइएको प्रहरीले बताएको छ । प्रहरी कार्यालयबाट निस्केका उनीहरू सो रात केटाको साँहिला बुबाको घरमा बसेको र शुक्रबार बेलुकी ६ बजे सोही घरमा आफ्नै सलको पासो लगाएर युवती झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।युवतीको शव झुन्डिएकै अस्थामा छ भने केटी पक्ष, दल, पत्रकार र प्रहरी तथा नागरिक समाजका प्रतिनिधिबीच वार्ता चलिरहेको छ । घटना हत्या भएकाले हत्यारालाई अगाडि नउभ्याएसम्म लास नबुझ्ने केटी पक्षको अडान छ । स्याङ्जाका प्रहरी प्रमुख ईश्वरी चापागाईँ बिदामा रहेको र प्रमुख जिल्ला अधिकारी पोखरा घर आएका कारण समयमा वार्ता हुन नसकेकाले स्थानीयवासीले राजमार्ग अवरोध गरेका थिए । लोकबन्धु र उनकी श्रीमतीको बेहोस अवस्थामा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीले लोकबन्धुका बाबु दयारामसहित सातजना नातेदारलाई हिरासतमा लिएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home