Thursday, May 13, 2010

स्याङ्जामा उत्पादीत कफि अमेरिका जापान तथा कोरिया निर्यात !!

                         स्याङ्जा जिल्लाका कृषकहरु कफि खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । बैदेशिक रोजगारमा यहाँका युवाहरु विदेश तर्फ भौतारिए पनि मेहनत गरेमा यहि माटोमा समेत लाखौ आम्दानी गर्न सफल हुन्छ भन्ने यहाँका कृषकहरुले उदाहरण समेत प्रस्तुत गरेका छन् । स्याङ्जामा उत्पादीत कफि अमेरिका जापान तथा कोरिया निर्यात हुदै आएको छ । नेपालमै स्वादिलो कफि भएका कारण अमेरिका जापान र कोरियाका नागरिकले नेपाली कफिको मागलाई बढाएका छन् । जिल्लाका २ नगरपालिका र ६० गाउं विकास समिति मध्ये पुतलीबजार र वालिङ् नगरपालिका तथा २८ गाउं विकास समितिमा कफीको बढि मात्रामा उत्पादन हुने गरेको छ ।

बजारको सुनिश्चित भएपछि कफी खेतीमा कृषकको आकर्षण बढेको हो । गत वर्षको तुलनामा यस वर्ष कफी खेती र उत्पादनमा करिव १० प्रतिशतले बढेको छ । हालसम्म जिल्लामा करिव ३ लाख कफी विरुवा रोपण गरिएको छ ।
कफी खेतीबाट वर्षमा मात्रै करिव ५ लाखको हाराहारीमा आम्दानी गर्न सफल भएका पुतलीबजार नगरपालिका- १३ मायाटारीका बोधराज अर्यालले बताउनुभयो । कृषक अर्यालले लामो समयदेखि कफी सुन्तला खेती गर्दै आउनु भएको छ । व्यक्तिगत रुपमा अर्यालले ५० रोपनी जग्गामा कफी र सुन्तला खेती गर्नुभएको छ ।
जिल्लाका कृषकले यस वर्ष कफी विक्रीबाट करिव १ करोड आम्दानी गर्ने छन् । गत वर्षमात्रै कृषकहरुले करिव ६० लाख आम्दानी गर्न सफल भएका थिए । जिल्लामा हाल २० वटा पलपिङ् केन्द्र रहेका छन् । स्थानिय स्तरमा फ्रेस चेरी कफीको मुल्य ३० देखि ३५ रुपयां सम्म तोकिएको छ । ड्राई पार्चमेन्ट कफीको मुल्य भने १ सय ४० रुपयां भन्दा माथि हुने अनुमान गरिएको छ ।
२०६५ मा ड्राई पार्चमेन्ट ४० टन र ड्राई चेरी ५ टन कफी विदेश निर्यात भएको थियो । उत्पादीत कफि एभरेष्ट कफी मिल पांचखाल काभ्रे पलानटेक कफी स्टेट काठमाडौं र हाइल्याण्ड कफी प्रमोशन कम्पनीले कफी खरिद गरि विदेश निर्यात गरेको हो ।
स्याङ्जामा मात्रै २ हजार ५ सय परिवारले संगठित रुपमा कफी खेतीबाट जीविकोपार्जन गर्दै आएको जिल्ला कफि व्यवसायी संघका अध्यक्ष फणीनारायण अर्यालले बताउनुभयो । अर्यालले भन्नुभयो ँयहाँ उत्पादीत कुल उत्पादीत कफीमा ३० प्रतिशत आन्तरिक र ७० प्रतिशत विदेश निर्यात हुने गरेको छ’ ।
बढि मात्रामा कफी उत्पादन गर्ने विभिन्न जिल्ला मध्ये ललितपुर पछि स्याङ्जालाई लिने गरिएको छ । विशेष गरि ठूला ठूला रुख भएका क्षेत्रमा समेत कफीको विरुवा लगाउन सकिने भएकाले कफीलाई पाउना खेतीका रुपमा लिने गरिएको हो । कृषकहरुले विगत ५ वर्षदेखि जिल्लामा कफीे खेती गर्दै आएका छन् ।
नेपाल सरकार र उद्योग वाणिज्य संघको संयुक्त पहलमा स्याङ्जा जिल्लालाई एक गाउं एक उत्पादन कार्यक्रम अन्र्तगत कफी खेती नै परेको छ । यसले थप कृषकलाई व्यवसायी बनाउने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लम्सालले बताउनुभयो ।
स्याङ्जामा करिव १ वर्ष भित्रमा करिव १० करोडको कफी निर्यात गर्न सफल हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार स्याङ्जाको भौगोलिक बनावट र वातावरण कफी खेतीको लागि अति उत्तम रहेको छ ।

प्रकाश डोटेल

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home