Sunday, May 16, 2010

‘सरकारी विद्यालय, जहाँ उच्च शिक्षा पनि निःशुल्क हुन्छ’

             स्याङ्जा, २ जेठ । सरकारी विद्यालयमा कक्षा एकदेखि प्रवीणता तहसम्म निःशुल्क अध्ययन अध्यापन गराइन्छ भन्दा झट्ट सुन्दा आश्चर्य लाग्छ । तर पश्चिम स्याङ्जाको केवरे गाविस वडा नं. ४ स्थित बालसिद्ध उच्च माध्यमिक विद्यालयमा यस्तै छ ।

त्यहाँ अध्ययन गर्ने विद्यार्थीले कक्षा एकदेखि प्रवीणता प्रमाणपत्र तहसम्म न त भर्ना शुल्क तिर्नुपर्छ, न त पाठ्यपुस्तक किन्नुपर्छ ।
वि.सं. २०१५ मा स्थापना गरिएको सो विद्यालयले २०२८ सालमा निमावि र २०३२ सालमा मावि.सञ्चालन गरेकोमा २०५७ सालदेखि उच्चमाध्यमिक शिक्षा परिषद्बाट स्वीकृत प्राप्त गरी उच्चमावि सञ्चालन गर्दै आएको छ ।
स्थापना कालदेखि नै विद्यार्थीका लागि निःशुल्क अध्ययन गराउँदै आएको सो विद्यालयमा कक्षा एकदेखि प्रवीणता प्रमाणपत्र तहसम्म एकहजार एकसय विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्राचार्य ताराप्रसाद रेग्मीले बताउनुभयो ।
नेपाल सरकारले शिक्षामा निम्नमाध्यमिक तहसम्म निःशुल्क अध्यापन गराउँने नीति ल्याउँदै गर्दा त्योभन्दा माथि उठेर बालसिद्ध उच्चमाविले कक्षा एकदेखि प्रवीणता प्रमाणपत्र तहसम्म भर्ना शुल्क, मासिक शुल्क, पाठ्यपुस्तकसमेत निःशुल्क गराएर आफूलाई देशको नमुना विद्यालयका रुपमा स्थापित गर्न सक्षम भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त रेग्मीले बताउनुभयो । विद्यालयको आयस्रोत भनेको विद्यालयको जग्गामा बनाइएका दुईवटा भवनबाट वार्षिक रु.एकलाख २० हजार, ढुङ्गाखानीबाट ढुङ्गा बिक्री गरी वार्षिक रु.एकलाख, दनकट्टास्थित जग्गाबाट रु.एकलाख गरी करिब रु.चारलाख हो ।
सरकारले यही शैक्षिकसत्रबाट मात्र कक्षा एकदेखि कक्षा आठसम्म पाठ्यपुस्तक तथा भर्ना शुल्क निःशुल्क गराउने कार्यक्रम ल्याएको भए पनि सबै कुरा निःशुल्क गरेर चलाएको विद्यालय अन्यत्र आफूले नदेखेको क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक लक्ष्मीराम पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो –‘सम्भवतः नेपालमा प्रवीणता प्रमाणपत्र तहसम्म निःशुल्क अध्यापन गराउने विद्यालय यहीमात्र हुन सक्छ ।’
यसैबीच जिल्लाको शैक्षिक स्थितिमा सुधार ल्याउन जिल्ला शिक्षा कार्यालयले सुपरिवेक्षण अभियान सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत जिल्लाका ६० विद्यालयमा समूह सुपरिवेक्षण गरिसकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । लामो समयसम्म विद्यालयमा सुपरिवेक्षण नगरिँदा शैक्षिकस्थिति प्रभावित बन्दै गएपछि कार्यालयले गत वर्षदेखि अभियान सञ्चालन गरेको हो ।
जिल्ला शिक्षा कार्यालयका अनुसार सोही अभियानअन्तर्गत ३ सय ५० विद्यालयमा कक्षा शिक्षण अवलोकन गरिसकिएको छ ।
 
रासस

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home