Sunday, May 16, 2010

सम्पत्ति पाउन सन्तान

स्याङ्जा, जेष्ठ 2 -

           अजुर्नचौपारीकी रमा अर्यालले विवाह गरेरै मात्र परिवारको सदस्य बन्न पाइनन् । श्रीमान्को सम्पत्तिको अंशियार हुन र परिवारले विश्वास गर्न उनले सन्तान जन्माउने बेलासम्म कुर्नुपर्‍यो । उनले भनिन्, 'सन्तानमात्र पाए सबै अधिकार प्राप्त हुने गर्छ ।' बच्चा नहँुदा उनी धेरै अधिकारबाट वञ्चित थिइन् ।
उनी मात्रै होइन जिल्लामा धेरै महिलाले सम्पत्ति आफ्नो नाममा राख्नका लागि बच्चा पाउनै पर्छ । बुहारीलाई अंशियार गन्ने चलन छैन । पछिल्लो समय भ्रष्टाचार गरेको पैसा र दाजुभाइलाई लुकाउन पर्‍यो भने श्रीमतीको नाममा राख्ने चलन बढेको सुरक्षा दबाब समूहकी अध्यक्ष गीता पोखरेलले बताइन् । उनले भनिन्, 'जग्गा बेचेर खान्छे या अर्कैसँग विवाह गरेर जान्छे भन्ने डरका कारण महिलालाई सम्पत्ति दिइँदैन तर लुकाएको सम्पत्ति नाममा पर्छ ।' बच्चा भएपछि धेरै हदसम्म ऊ अर्को बिहे नगर्ने र व्यावहारिक बन्नेमा परिवार ढुक्क हुन्छन् ।
 जिम्मेवारी दिने कुरामा महिलालाई विश्वास नगर्नु र आर्थिक अधिकार पुरुषमै राख्न चाहनु पनि अर्को कारण भएको पोखरेलले बताइन् ।
सरकारले महिलाको नाममा जग्गा पास गरे २५ प्रतिशत राजस्व छुट गरेको छ । त्यस लगत्तै महिलाको नाममा जग्गा किन्ने बढेका छन् । तर जग्गा पास गर्न आउने सबैजसो उमेर धेरै भएका र बच्चा भएका हुने गर्छन् । बच्चा नहुँदासम्म श्रीमतीप्रति श्रीमान्को र बुहारीप्रति सासूससुराको विश्वास कम हुने रमाले बताइन् । 'बच्चा नपाउँदासम्म उसलाई व्यावहारिक मानिँदैन, अन्त कतै जान सक्ने सम्भावना देख्छन्' उनले भनिन् । मालपोत कार्यालयको तथ्याङ्कअनुसार ग्ात वर्ष ४ हजार ४ सय ८२ मध्ये ११ सय ९१ महिलाको नाममा जग्गा पास भएको थियो । यस वर्षमा २ हजार ८ सय ७० घरजग्गाको कारोबार भएकोमा महिलाको नाममा ८ सय २५ जनाको नाममा जग्गा किनिएको छ । यी सबै महिला बच्चा भएका र ४० वर्ष उमेर काटेका हुने गरेको मालपोत अधिकृत चिरञ्जीवी पौडेलले बताए । उनले भने 'राजस्व छुट भएपछि महिलाको नाममा जग्गा पास गर्ने बढेका छन् तर छोराछोरी पाएका र अलि बढी उमेरका महिलामात्र छन् ।'
श्रीमान् बितेका महिलाबाहेक धेरै महिलाको नाममा जग्गा हुन गाह्रो पर्छ । किनबेच गर्दासमेत पुरुषकै नामबाट हुन्छ । पुख्र्यौली सम्पत्ति पनि बुहारीको नाममा नभई छोराको नाममा सार्ने गरिन्छ । पुरानो संस्कारको कारण अझै पनि महिलाको नाममा जग्गा पास गर्न खोज्दैनन् । विदेश गएका श्रीमान्ले पैसा पठाएर श्रीमतीको नाममा जग्गा किने पनि त्यो केही समयका लागि भएको पौडेलको अनुभव छ । उनले भने, 'श्रीमान् फर्केपछि श्रीमान्कै नाममा नामसारी गर्न आउने धेरै छन् ।'

वसन्ती बाँस्तोला (Kantipur)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home