Sunday, June 13, 2010

माहुरीपालनतर्फ किसानहरु आकर्षित

     स्याङ्जा, जेठ २९ - धन कमाउन विदेश धाउनु पर्दैन गाउँघरमा लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् स्याङ्जा पुतलीबजार नगरपालिकाको सतौंचण्डिकाका किसान । उनीहरु घरमै माहुरीपालन गरी राम्रै आयआर्जन गर्न सफल भएका छन् ।

यहाँका किसानले मह बिक्री गरेर दैनिक घरखर्चदेखि बालबालिकाको पढाइखर्च जुटाइ केही रकम बचत गरिरहेका छन् । थोरै मेहनत र सानो लगानीमा राम्रो आर्जन गर्नसक्ने भएपछि हिजोआज सतौंचण्डीकाका किसान माहुरीपालनतर्फ निकै आकर्षित भएका हुन् ।
माहुरीपालनबाट छोटो समयमा प्रतिफल लिन सकिने भएकाले पनि यसप्रति गाउँका किसान आकर्षित भएका हुन् स्थानीय किसान छविलाल आचार्यले भन्नुभयो- प्रतिकूल मौसममा पनि यहाँका किसान माहुरीपालनप्रति उत्साहित भएका छन् ।
किसान आचार्यका अनुसार सतौंचण्डिकाका ५० घरले व्यावसायिक माहुरीपालन गरेका छन् । उहाँले भन्नुभयो- 'एक घरले वर्षमा रु १ लाखदेखि रु ५ लाखसम्मको मह उत्पादन गरी बिक्री गर्ने गरेका छन् ।'
घरमा ६० घार माहुरीपालन गरी मह उत्पादन गर्दै आउनुभएका किसान आचार्यले यसवर्ष एक महिनामा चारपटक मह काढेको बताउनुभयो । एउटा घारबाट १० केजीदेखि २० केजीसम्म मह उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।
उत्पादित महको लागि बजारको समस्या नभएको चण्डिकालिका कफी फलफूल सहकारीसंस्थाका अध्यक्ष हुमनाथ ढकाल बताउनुहुन्छ । महको बजारको खोजीमा सदरमुकामसम्म पनि नगएको ढकालले बताउनुभयो ।
गाउँमा उत्पादन भएको मह विशेषतः औषधिको रुपमा प्रयोग गरिने तथा बालबालिकादेखि वृद्धसम्मले पोषणको रुपमा प्रयोग गर्ने हुनाले बजारको अभाव नभएको अध्यक्ष ढकालले बताउनुभयो ।
जिल्लाका राङखोला खिलुङदेउराली अर्जुनचौपारीलगायतका स्थानमा किसानले व्यावसायिक माहुरीपालन गरिरहेको जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ ।
सो कार्यालयका अनुसार सतौंचण्डिकाका किसानले मह उत्पादन मात्र नगरी व्यावसायिक रुपमा मौरीको घार बनाउन समेत थालेका छन् । उनीहरुले पाँचवटा फ्रेम सहितको एउटा घारलाई चारहजारसम्ममा बिक्री गर्ने गरेका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home