Friday, June 11, 2010

बाँदर नियन्त्रण गर्न बजेट

स्याङ्जा, जेष्ठ २८ -
   बाँदरबाट अन्नबाली जोगाउन गाउँलेले धेरै उपाय गरे । बाली कुर्ने, बाँदर लखेट्ने गर्दा गाउँले हैरान छन् । खेती सखाप पार्ने क्रम नरोकिएपछि एक गाविसले त बाँदर नियन्त्रण गर्न यो वर्ष १ लाख बजेटसमेत छुट्ट्याएको छ ।
जिल्लाका २ नगरपालिका र धेरै गाविसमा बाँदरले सताएपछि कृषकको अवस्था कहिल्यै नसुधि्रएको वरिष्ठ कृषि विकास अधिकारी चेतनाथ अधिकारीले बताए । गाउँ परिषदले पारित गरेको बजेटले ९ वटै वडामा बाँदरबाट वाली संरक्षण गर्न मालुंगामा ११ जनाको समिति बनाइएको छ । गाविसका बाँसघारी र घर वरपरका ठूला रूख काटेर झाडी हटाइको मालुंगाका गाविस सचिव डोलराज बस्यालले बताए । यसरी खुला बनाएपछि बाँदर हेरालु राख्ने गाउँलेको योजना छ ।
'मैले थाहा पाएदेखि बाँदरले खेती खाने गथ्र्यो, दुःख गर्‍यो बाँदरले एकै छिनमा सकाउछ, कसरी बाँच्ने ?', २७ वर्षे रमेश भण्डारीले भने । यसअघि नियन्त्रणका लागि सामूहिक प्रयास भएको थिएन । लगाएको बाली मात्र होइन, ढोका र झ्यालबाट पसेर भण्डारको खाद्यान्न खाने गरेको गाउँलेले सुनाए । 'किनेर ल्याएको पनि खान पाउँदैनौं', उनीहरू भन्छन् ।
करिब ३ सयको हाराहारीमा बाँदर आउने गरेको पुतलीबजार नगरपालिका सुम्रेखोलाका सुनिल अर्यालले बताए । 'उज्यालो हुन नपाउँदै बाँदरले खेती सखाप पार्छ', स्थानीय मोतीलाल पौडेलले भने । गाउले आफैंले संरक्षण गरेको सामुदायिक बन बाँदरको मुख्य वासस्थान बनेको छ ।
सदरमुकाम बस्दै आएकी पकवादीकी विनया गिरीले भनिन्, 'घरमा फोन गर्‍यो आमा बाँदर डिउटीमा छु भन्नुहुन्छ ।' मकै र तरकारीको यो मौसममा राति सुत्दा बाँदरले मकै सखाप पार्ने हो कि भनेर निन्द्रा नालाग्ने गाउँलेको गुनासो छ । मकै जोगाउन गाउँले बारीको डिलमा स्याउलाको छाप्रो बनाएर बस्ने गरेका छन् । लौरी, गुलेली र ढुंगाले बाँदर लखेट्न गर्छन् ।

वसन्ती बाँस्तोला (Kantipur)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home