Wednesday, June 23, 2010

आर्थिक अभावमा अस्पताल निर्माण अवरुद्ध

प्रकाश डोटेल

स्याङ्जा, 8 असार ।
           स्थानिय स्तरबाट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ मा रहेको हेलु बजार नजिकै निर्माधिन कालिका सामुदायिक शिक्षण अस्पताल बजेट अभाबका कारण निर्धारित समयमा सम्पन्न हुन सकेको छैन। २०६२ सालमा पुतलीबजार नगरपालिका–१३, स्थित आँधीखोला किनारमा स्थानिय स्तरमा सहयोग स्वरुप संकलन गरिएको रकमबाट १५ रोपनी जग्गा खरिद गरि निर्माण कार्य थालिएको सामुदायिक अस्पताल दाताहरुले कबोल गरेको रकम उठाउन नसक्दा निर्माण कार्य अबरुद्ध भएको हो।
स्वास्थ्य सेवाबाट निक्कै पछाडि रहेको स्याङ्जाका बिरामी उपचारको लागी पोखरा, काठमाण्डौ तथा पाल्पा धाउन नपरोस भनेर स्थापना गरिएको उक्त अस्पताल १ सय सैयाको रहने छ।

२ करोडको भवन निर्माण र ३ करोडको सामाग्री खरिद गरिने भनेर अस्पताल निर्माण सुरु भएको मितिले २ बर्षमा सम्पन्न हुनुपर्ने भनिएता पनि अस्पतालको भवन निर्माणको क्रममा आर्थिक समस्या परेकोले ६ वर्ष हुदासम्म सम्पन्न हुन सकेको छैन्।
सरकारी निकाय र राजनीतिक दलहरुले कुनै सहयोग नगरेपनि आजिवन तथा स्थायी सदस्य बनाएर रकम संकलन गरि निर्माण शुरु गरिएको अस्पतालमा हालसम्म ३ ओटा भवन निर्माण सम्पन्न भैसकेका छन्। भवनहरु मध्ये अस्पताल, र डाक्टर आवास कोठा रहेका छन् ।
दाताले कबोल गरेको सम्पूर्ण रकम उठ्न नसक्दा आर्थिक बर्ष ०६४ को अन्त्यमा निर्माण सम्पन्न गरि अस्पताल तथा नर्सिङ्ग कजेज सञ्चालनमा आइसक्ने थियो तर त्यसो हुन नसक्दा काम सम्पन्न गर्न आर्थिक वर्ष ०६६/०६७ को अन्त्य सम्ममा पनि सञ्चालनमा ल्याउन निक्कै कठीन भएको छ। दाताले कबोल गरे अनुसार हालसम्म करिव ६ करोड रकम संकलन हुनुपर्ने तर कबोल अनुसारको रकम मध्ये करिव ४ करोड मात्रै संकलन भएको छ।
आजिवन सदस्य हुन १ लाख भन्दा माथिको सहयोग र स्थायी सदस्य हुनका लागि १० हजार भन्दा माथिको सहयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। हालसम्म ३१ जना आजिवन र १ हजार १ सय ७८ जना स्थायी सदस्य रहेको अस्पतालका अध्यक्ष प्रेमनारायण अर्यालले बताए।
अस्पतालको अतिरिक्त सो सामुदायिक संस्थाले स्थानिय स्तरमै नर्सिङ् क्याम्पसको अध्ययनलाई समेत अगाडी बढाउने भएको छ। नर्सिङ् क्याम्पसमा स्टार्फ नर्स, हेल्थ असिस्टेन्ट, सी.एम.ए, ल्याव असिस्टेन्ट, र फार्मेसी विषयको अध्ययन गराउने लक्ष्य लिएका छ। नर्सिङ क्याम्पसको सञ्चालनपछि अस्पताललाई आवस्यक कर्मचारी समेत त्यहिँ उत्पादन हुने र जसले गर्दा स्थानिय सर्वसाधारणहरुले रोजगार प्राप्त गर्ने छन्।
अस्पताल भवन निर्माणको जिम्मा लिएको रसुवा कन्स्ट्रकसनका संचालक दुर्गानारायण श्रेष्ठको लापरबाहीले समयमै अस्पताल संचालनमा आउन नसकेको कालिका सामुदायिक अस्पतालका कोषाध्यक्ष चुडामणी अर्यालले बताए। उनका अनुसार, जिल्लाकै मध्यभागमा रहेको अस्पतालले जिल्लाका २ नगरपालिका र करिव ५० गाविसलाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने छ।
नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा गरेको लगानी वालुवामा पानी हाले जस्तै भैरहेको अवस्थामा गाउँका जनताहरु जागरुक भएर स्थानिय स्तरमा रकम संकलन गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न खोज्नु सकारात्मक सन्देश भएको हो।
नेपाल सरकारले यस्ता कार्यक्रममा सहयोग गरेको खण्डमा कैयौँ गरीब नेपालीले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने थिए। अस्पतालको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको खण्डमा अस्पतालबाट स्याङ्जा, पाल्पा, गुल्मी, तनहु, पर्वत लगायतका छिमेकी जिल्लाका लाखौं सर्वसाधारणहरु प्रत्यक्ष लाभान्वित हुनेछन्।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home