Sunday, August 8, 2010

काँग्रेस सभापतिका आधा दर्जन उम्मेदवार !!

प्रकाश डोटेल स्याङ्जा, २३ साउन  नेपाली काँग्रेसको १२ औं महाधिवेशनको पूर्व सन्ध्यामा आगामी २७ गते हुन लागेको नेपाली काँग्रेस स्याङ्जाको अधिवेशनमा पार्टी सभापतिका लागि लामो राजनीतिक पृष्ठभूमि बोकेका आधा दर्जन नेताहरुले उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवार घोषणा गरे लगत्तै नेताहरु दौडधुप शुरु गरेका छन्। पार्टी सभापतिको उम्मेदवारी घोषणासँगै केन्द्रिय स्तरका ठूला नेताहरुको आर्शिवाद आफ्नो पक्षमा ल्याउन नेताहरु दौडधुप लागेका छन्। चुनावी मैदानमा उत्रिएका नेताहरु आफू निकटका केन्द्रका ठूला नेताको दैलोमा करिव ४ दिनदेखि आर्शिवादको प्रतिक्षामा बसेका छन्।
उम्मेदावरहरु केन्द्रिय नेतासँग पुगेपछि उनीहरु निकटका कार्यकर्ताहरु स्थानिय स्तरमा प्रचार–प्रसारमा उत्रिएका छन्। आफ्ना उम्मेदवारलाई विजयी बनाउन कार्यक्रर्ताहरु नीजि काम छाडेर समेत प्रचारमा हाम फालेका छन्।
१२ औं जिल्ला अधिवेशनमा पार्टी सभापतिमा उम्मेदवार घोषणा गर्नेहरुमा क्षेत्र नं.–१, बाट वर्तमान वरिष्ठ उपसभापति, जगतबन्धु अर्याल, क्षेत्र नं.–२, बाट ११ औं महाधिवेशनमा सभापति पदमा पराजित भोजराज अर्याल, सूर्यप्रसाद रेग्मी र सहभापति कमलप्रसाद पंगेनी तथा क्षेत्र नं.–३ बाट वर्तमान सचिव शिवकुमार गिरि र महासमिति सदस्य गजिन्द्रप्रकाश मल्ल रहनुभएको छ।
सभापतिका उम्मेदवार विचमा आफ्नो पक्षमा नेताहरुको आर्शिवाद पार्न काठमाडामौं धर्ना सरह नै बसेका छन्। प्रतिनिधिले मतदान गरेमा मात्रै निर्वाचनमा विजयी हुन सकिन्छ भन्ने भावना नेताहरुले चट्क्कै विर्सेका छन्।
प्रतिस्पर्धाका विचमा सर्वसहमति प्रयास भएको खण्डमा आफूले उम्मेदवार दिने गजिन्द्रप्रकाश मल्लले बताउनुभयो, विगत लामो समयदेखि काँग्र्रेसको विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरेका मल्लको जिकिर थियो, ईतिहासको मुल्याङ्कन गरेर आफूलाई सहमतिका आधारमा सभापति चयन गरिने छ।
पार्टी सभापतिको उम्मेदवार घोषणा गर्ने नेताहरुमा क्षेत्र नं. २ का भोजराज अर्याल र कमलप्रसाद पंगेनी तथा क्षेत्र नं.–३ का शिवकुमार गिरिका विचमा चुनावी मैदानमा निकै प्रतिस्पर्धा हुने बताइएको छ।
आर्शिवादको दौडमा निस्केका सभापतिका उम्मेदवार मध्ये भोजराज अर्याल नेपाली काँग्रेसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल समक्ष पुग्नुभएको छ। ३ वर्ष अघिसम्म पौडेलसँग राजनीतिमा राम्रो सम्बन्ध भएका अर्यालको पछिल्लो समयमा सम्बन्ध विग्रेको बताइएको छ।
सभापतिका अर्का प्रत्यासी कमलप्रसाद पंगेनी वरिष्ठ नेता शेरबहादुर देउवाको दैलोमा पुग्नुभएको काँग्रेस स्रोतले बताएको छ। पार्टी विभाजनको समयमा नेपाली काँग्रेस (प्रजातान्त्रिक) को जिल्ला सभापति समाल्नु भएका नेता पंगेनीलाई सहज रुपमा नेता देउवाले सभापतिमा सहयोग गर्न आग्रह गर्नुहुने बताइएको छ।
युवाहरुका विचमा लोकप्रिय, सभापतिका सशक्क्त उम्मेदवार मानिएका शिवकुमार गिरि नेपाली काँग्रेसका कार्यबहाक सभापति शुसिल कोईराला समक्ष आर्शिवादका लागि पुग्नुभएको उहाँ निकट एक नेताले बताए।
उम्मेदवार गिरि आर्शिवादका लागि कावा सभापति कोईराला निकट पुगेपनि सभाषद मोहनप्रसाद पाण्डेको पहलमा संसदीय दलका नेता रामचन्द्र पौडेलको सहानुभूति पाउने अपेक्षामा नेता गिरि रहेको समेत बताइएको छ। जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभाषदहरु गिरिका पक्षमा रहेको समेत बताइएको छ।
संसदीय दलका नेता पौडेलको निकट मानिएका पाण्डे उम्मेदवार गिरिका पक्षमा रहेको दावी गरिएको छ। संविधान–सभामा पाण्डेलाई सभाषद बनाउन गिरिले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्।
विगतमा गरेका भूमिका र योगदानका आधारमा सभापतिको चयन हुने छ। केन्द्रका नेताले सहानुभूति राख्दैमा आकाशै खसिहाल्दैन्, उदयमान युवा नेता राजु थापाले बताउनुभयो, चुनावी मैदानमा युवाको भावनालाई समेटेर जाने उम्मेदवारलाई आफूहरुले सहयोग गर्ने हो।
काँग्रेस स्याङ्जाका नेताहरु अर्याल, पंगेनी र गिरिका विचमा चुनावी प्रतिस्पर्धा भएमा पहिलो चरण्मा कुनै उम्मेदवारका पक्षमा बहुमत नआउने दावी गर्दै, काँग्रेसी स्थानिय नेता मुन्ना शेखले भन्नुभयो, काँग्रेस चलाउन युवाको आवश्यकता छ।
नेपाली काँग्रेसको परिमार्जीत विधान अनुसार सभापति सहित सचिव र कोषाध्यक्ष जिल्ला स्तरीय निर्वाचनमा सचिव पदमा पत्रकार ईन्द्रबहादुर गोदार, गोविन्दबहादुर रानाभाट, कृष्णप्रसाद अर्याल, दीर्घनारायण अर्याल, गंगाप्रसाद काफ्ले, हिरण्य आचार्य सहितका नेताहरुले प्रतिस्पर्धामा उत्रने घोषणा गर्नुभएको छ।
त्यसैगरि निर्वाचित कोषाध्यक्ष पदका लागि दीर्घनारायण शर्मा र पित्ताम्बर श्रेष्ठ चुनावी मैदानमा उत्रने घोषणा गरिसक्नुभएको छ। श्रेष्ठ वर्तमान कोषाध्यक्ष पदमा रहनुभएको छ।
साउन २७ मा हुने जिल्ला अधिवेशनका लागि क्षेत्र नं.–१, बाट २ सय ७६, क्षेत्र नं.–२, बाट २ सय ४६ र क्षेत्र नं.–३ बाट २ सय ४ प्रतिनिधि सहभागि हुनेछन्। कुल ७ सय २७ प्रतिनिधि मध्ये २७ गतेको मतदानमा करिव ७ सय मत खस्ने अपेक्षा गरिएको छ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home