Sunday, April 18, 2010

स्थानीय विकास राज्यमन्त्री स्याङ्जामा

नेकपा (माओवादी)लाई जतिखेर सत्ता चाहियो, त्यतिखेर सत्ता नपाइने, आफ्नै कारणले माओवादी सत्ताबाट बाहिरिएको आरोप..
स्याङ्जा, ५ वैशाख (दैनिकी)
स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले एकीकृत नेकपा (माओवदी)का लडाकु समायोजन नहुँदासम्म संविधान जारी हुन नसक्ने बताउनुभएको छ । स्याङ्जाको भाटखोला गाविस-७ को सेतीखोलामा निर्माण हुन लागेको पक्कीपुलको शिलान्यास समारोहमा बोल्दै राज्यमन्त्री खड्काले संविधान बनाउने दायित्व संविधानसभामा क्रियाशील सबै राजनैतिक दलको भएको तर संविधान निर्माण प्रक्रियामा माओवादी बाधक भएको आरोप लगाउनुभयो । उहाँले एउटा देशमा एउटा मात्रै सेना हुनेहुँदा राजनीतिक प्रशिक्षण पाएका सेनाको आडमा राजनीति नगर्न एकीकृत (माओवादी)लाइ आग्रह गर्नुभयो ।
राज्यमन्त्री खड्काले नेपाली काङ्ग्रेसको नेतृत्वमा राजतन्त्र हटाउनेदेखि लोकतान्त्रिक क्रान्ति र परिवर्तन भएको चर्चा गर्दै अब जारी हुने संविधान पनि नेपाली काङ्ग्रेसकै अगुवाईमा हुने बताउनुभयो । उहाँले दलहरुको आन्तरिक विवादको फाइदा उठाउँदै निर्मल निवासमा रहेका पुर्वराजाले अहिले टाउको उठाउने काम गरेको बताउनुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले एकीकृत नेकपा (माओवादी)लाई जतिखेर सत्ता चाहियो, त्यतिखेर सत्ता नपाइने टिप्पणी गर्दै उहाँले आफ्नै कारणले माओवादी सत्ताबाट बाहिरिएको बताउनुभयो ।
सभासद् हितकाजी गुरुङले सबै दलहरु एक भएर लागेमा निर्धारित समयमा संविधान निर्माण गर्न सकिने दाबी गर्नुभयो । स्याङ्जाका स्थानीय विकास अधिकारी दीर्घनारायण पौडेलले भाटखोला गाविस-७ मा रहेको सेतीखोलामा रु १ करोड ६५ लाखको लागतमा पक्कीपुल निर्माण हुन लागेको जानकारी दिनुभयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home