Friday, July 16, 2010

पुवनपा स्याङ्जाको आयोजनामा सार्वजनिक सुनुवाई सम्पन्न

(लोकनाथ मरासिनी)
     स्याङ्जा, साउन १ - पुतलीबजार नगरपालिका स्याङ्जाद्वारा नगरपालिकाको नीति कार्यक्रम र योजना तथा कार्यान्वयन प्रक्रिया बारेमा आम नागरिकलाई जानकारी गराउने तथा नागरिकका गुनासा तथा सुझाव संकलन गर्ने उद्देश्यले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
पुतलीबजार नगरपालिकाको आयोजना र सामुदायिक रेडियो स्याङ्जा एफ।एमको प्राविधिक व्यवस्थापन तथा सहजीकरणमा नगरपालिकाको सभाहल प्रगतिनगरमा शुक्रबार नगरपालिकाले अख्तियार गरेका नीति कार्यक्रम र योजनाका बारेमा सार्वजनिक सुनुवाई गरि सुझाव संकलन गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले नगरपालिकाबाट सम्पादन हुने कार्यहरु नेता मुखी नभई जनतामुखी हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले राजनीतिक संक्रमणको अवस्थामा भ्रष्टाचार मौलाएको र योजना पास गर्दा कर्मचारीलाई रकम दिनुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए ।
सहभागीको गुनासोलाई सकरात्मक रुपमा लिँदै यस्ता खाले गुनासा र सुझावले वास्तविक योजना छनौंट गर्न सजिलो हुने नगरपालिकाका कार्यकारी अधिकृत हरिराम पाण्डेले बताए । कार्यक्रममा एकीकृत नेकपा माओवादीका सुरज गैरे पारस, नेपाली काँग्रेसका कृष्णप्रसाद अर्याल, राष्ट्रिय जनमोर्चाका गेमबहादुर हमाल, राष्ट्रिय जनशक्ति पार्टीका झविश्वर तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र कोइराला, राप्रपा नेपालका जयनारायण श्रेष्ठ, नेकपा संयुक्तका पुण्यप्रसाद शर्मा लगायतले सहभागीहरुका सवालको जवाफ दिएका थिए ।
सहभागीहरुले नगरपालिकाभित्र रहेका खानेपानीका समस्या, शिक्षामा कम वजेट विनियोजन गरिएको, फोहर व्यवस्थापन गर्न नसकिएको, विद्युतको समस्यामा सुधार हुन नसकेको, नीति तथा कार्यक्रम राम्रा भएर पनि व्यवहारमा उतार्न असफल रहेको, व्यवस्थित शहरी विकास गर्न नसकेको, आदिवासी जनजाति महिला, दलित, अपाङ्गता भएकाहरु बालबालिका लगायतको क्षेत्रमा छुट्टयाइएको बजेट खर्च गर्दा वास्तविक लक्षित समुदायमा पुग्न नसकेको लगायत गुनासा र सुझावहरु राखेका थिए । सहभागीहरुबाट आएका सुझावहरुको आधारमा आगामी दिनमा सकरात्मक रुपमा सम्बोधन गर्ने कार्यकारी प्रमुख पाण्डे र नगरस्तरीय संयन्त्र सदस्यहरुले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home