Tuesday, July 13, 2010

स्याङ्जाको आकाशमा प्याराग्लाइडिङ अनुभव

- धनराज गुरुङ (सभासद)


सानोबाबुले पटापट बाँधिदिए । उनी प्याराग्लाइडर थिए । मलाई दौडिनू भने खुरर दौडेको 'फट्फट्फट्' आवाज आयो । एकछिनपछि भुइँमा खुट्टा रहेन । उड्दा उड्दै ढाडमा बाँधेको प्लस्टिकमा हावा भरियो । मेरो वरिपरि टम्म भयॊ । खुट्टा भने चलाइरहेकै थिएँ । सुरुमै कस्सिएर गएको थिएँ । 'टेक अफ' मा त्यति डर लागेन । सबैको गड्गड् तालीले म हौसिएको थिएँ । एकैछिनमा आकाशमा तुर्लुङ्ग झुण्डिए । मथि हेरेँ आकाशै देखिनँ ।
माघ महिनाको चिसोमा हामी स्याङ्जाको खिलुङ देउरालीमा आएका थियौं । गाउँ पूरै शून्य हुने अवस्थामा पुगेका बेला यहाँका युवाहरुको उद्देश्य भने गाउँलाई पर्यटकीय गन्तव्य बनाउनु थियो । प्याराग्लाइडिङ्को पहिलो अनुभव हो मेरो । एकैछिनमा बतासिँदै माथिमाथि पुग्यौं हामी । आफ्ना गाउँघर छर्लङ्ग देखेँ । मन साह्रै रमायो ।

खिलुङ लामिडाँडा च्युरीखार्क तिसिदेको माथिमथि घुमियो । झण्डै पूरै स्याङ्जा देखे झैं लाग्यो । प्याराग्लाइडरतिर ध्यानै गएन । चिल उड्दै नजिकनजिक आए । ठोक्किएला कि भन्ने डर एकातिर । अर्कोतिर निकै रमाइलो लागिरहेको थियो । यतिबेला भने मैले परिवारलाई सम्झेँ । सबैसँगै उड्न पाए कति मज्जा हुन्थ्यो होला । मलाई यस्तै लाग्यो । कहिले तातो हावामा पुगिन्थ्यो त कहिले चिसोमा । तातोमा पुग्दा माथिमाथि पुग्थ्यो त चिसोमा तलतल ।
यस्तो रमणीय ठाउँ देख्न पाइदो रुछ अनि पो विदेशीहरु मरिहत्ते गरी नेपाल आउँदारहेछन् । तर हाम्रा राजनेताहरु भने काठमाडौं वरिपरि नै झुम्मिएर बसेका छन् । उनीहरु विदेश जान मात्रै मरिहत्ते गर्छन् । नेपालमा भएका यस्ता ठाउँमा घुम्न आए केही विकास त थपिन्थ्यो । यस्तै सम्झे । नेपाल सरकारले यस्ता प्याराग्लाइडिङ्को सम्भाव्यता अध्ययन गरी अनुमति दिएमा कति फस्टउदो हो आर्थिक क्षेत्र ।
सोच्दा सोच्दै अर्को प्याराग्लाइड नजिकै आयो । छ्यास्स छोइदिएमा खसिन्छ कि झै लाग्यो । तर छोएन । एकैछिन त पाइलटले फनफनी घुमाइदिए । पिङ खेले झै लाग्यो । माथि हुत्तिँदा मज्जा लाग्थ्यो त तल बत्तिँदा डर । समय भने कति चाँडै गइसकेछ । ल्यान्ड गर्लान् भनी प्रतीक्षामा बसेका दर्शकहरु हेरेँ । पाइलटले पनि अब झरौं भने । तर विस्तारै आउँदा हावाले बत्तिएर रुखमा छोयो । डर लाग्यो । तर साथी पनि सँगै भएकाले साहस बटुलेँ । संसदको बैठक चल्दै होला भन्ने सम्झिएँ । अघिल्लो दिन सार्वजनिक लेखा समितिमा छलफल मिलेको थिएन । जहाज प्रकरणमा अल्झिदै थियो । पर्सीपल्ट पनि त छ बैठक । यो पनि सम्झेँ ।
ल्याडिङ्को अर्के प्रयासमा मान्छेहरुको दौडधुप भयो । मलाई डर लाग्यो उनीहरुलाई ठोक्किने पो हो कि । घुम्दा घुम्दै एउटा बिसे्रको कुरा सम्झे । मैले क्यामरा ल्याएको भए खिचेर सबैलाई सेयर गर्न पाउथे आकाशबाट देखिने यी दृश्यहरु । सबै समकक्षीलाई पनि सँगै ल्याएर घुमाउन पाए ?

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home