Friday, July 15, 2011

वालिङ नगरपालिकाले साउन १ बाट एकीकृत सम्पत्ति कर लगाउने

स्याङ्जा, २९ असार । वालिङ नगरपालिकाले आगामी साउन १ गतेबाट एकीकृत सम्पत्ति कर प्रणाली लागु गर्ने भएको छ । त्यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको आन्तरिक राजस्व स्रोतमा वृद्धि गरी नगरपालिका क्षेत्रको विकास निर्माणका लागि थप मद्दत पुर् याउन साउन १ गतेदेखि एकीकृत सम्पत्ति कर लगाउने तयारी गरिएको वालिङ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रदीप पौडेलले जानकारी दिनुभयो । स्थानीय स्वायत्त शासन ऐनमा उल्लेख भएअनुसार नेपालका ५८ वटै नगरपालिकाले आफ्नो आन्तरिक स्रोत बलियो बनाउन नगर क्षेत्रभित्र रहेका जग्गा र उक्त जग्गामा बनेका घर टहरा भवनलगायतमा तोकिएबमोजिम लगाइने करलाई एकीकृत सम्पत्ति कर भनिने कार्यकारी अधिकृत पौडेलले बताउनुभयो ।
विद्यमान मालपोत र घरजग्गा करजस्तो पुरानो परम्परागत प्रणालीलाई विस्थापित गरी नयाँ तथा वैज्ञानिक कर प्रणाली एकीकृत सम्पति करले स्थापना गर्ने उहाँले बताउनुभयो । झण्डै १० हजार करदाता रहेको वालिङ नगरपालिकाले विगत ४/५ वर्ष अघिदेखि सम्पत्ति कर लगाउन प्रयास गरे पनि नयाँ आर्थिक वर्षको सुरुबाटै लागु गर्ने तयारी सुरु गरेको हो । कार्यकारी अधिकृत पौडेलले भन्नुभयो- "परीक्षणका रुपमा पहिलो वर्ष हेर्छौ त्यसपछि विभिन्न क्षेत्र र अवस्था नगर संयन्त्र तथा सर्वसाधारणको राय सुझावलाई हेरी समय सापेक्ष यसलाई परिवर्तन गर्द्रै जानेछौँ ।"

वालिङ नगरपालिकाले सम्पत्ति कर लगाएको पहिलो वर्षमा करिब रु १० लाख राजस्व उठाउने लक्ष्य लिएको नगरपालिकाका लेखापाल कृष्णप्रसाद डुम्रेले बताउनुभयो । लेखापाल डुम्रेले भन्नुभयो- "सम्पूर्ण राजनीतिक दलका नेता संयन्त्र सदस्य र गाउँ तथा टोलका गैरसरकारी संस्था आमा समूहका प्रतिनिधिसँग परामर्श लिएर कर लगाउने निर्णयमा पुगेका हौँ" । वालिङस्थित निजी क्षेत्रका उद्योगी तथा व्यापारीहरुको प्रतिनिधित्व गर्ने संस्था वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष यामबहादुर गुरुङले एकीकृत सम्पत्ति कर लागु गर्दा सुरुका चरणमा अत्यन्तै न्यून शुल्क लिएर गर्नुपर्ने बताउनुभयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home