Friday, July 1, 2011

स्याङ्जामा सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण सुरु

स्याङ्जा, ४ असार । वालिङ नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउनेहरुले बैंकबाट रकम बुझ्न थालेका छन् । यसअघि नगरपालिकाबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता वालिङस्थित नेपाल बैंक लिमिटेडबाट वितरण गर्न सुरु गरिएको हो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी जीवन ओलीले वालिङ नगरपालिका-३ का ९४ वर्षीय गुरुप्रसाद तिवारीलाई रु दुई हजार नगद हस्तान्तरण गरेर बैंकिङ सेवाको सुरुवात गर्नुभएको हो ।

कार्यक्रममा स्याङ्जाका स्थानीय विकास अधिकारी रामजी बरालले बैंकिङ सेवा सुरु गरिएपछि सामाजिक सुरक्षा भत्ता वितरण कार्य विश्वसनीय र प्रभावकारी हुने बताउनुभयो । चालु आर्थिक वर्षको तेस्रो किस्तावापतको सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्न थालिएको वालिङ नगरपालिकाका कार्यकारी अधिकृत प्रदीप पौडेलले बताउनुभयो । यसअघिका किस्ताहरु भने नगरपालिकाले कार्यालयबाटै वितरण गरेको थियो ।
तेस्रो किस्ताअन्तर्गत नगरपालिकाले कुल रु २१ लाख ४८ हजार वितरण गर्ने भएको छ । नगरपालिकाभित्र जेष्ठ नागरिक अपाङ्ग एकल महिला गरी कुल एक हजार ७१ जना सामाजिक सुरक्षा भत्ता पाउने रहेका छन् ।

नेपाल बैंक लिमिटेड वालिङ शाखाका प्रवन्धक तेजप्रसाद देवकोटाका अनुसार बैंङकले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप प्रभावकारी बनाउनका लागि छुट्टै युनिटको स्थापना गरी कर्मचारी खटाइएको बताउनुभयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home