Friday, July 1, 2011

पर्यटकीय गाउँ जाने सबैभन्दा छोटो मोटरबाटो निर्माण

स्याङ्जा, ९ असार । नेपालको पहिलो नमुना ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको पाचमूल गाविस-५ स्थित सिरुबारी पुग्न जिल्ला सदरमुकामबाट सबैभन्दा छोटो दूरी मानिएको सडकको निर्माण कार्य सम्पन्न भएको छ । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सम्झनामा निर्माण गरिएको जिपी कोइराला स्मृति सडक पर्यटकीय गाउँ सिरुबारीसम्म जोडिएको छ । नेपाल पर्यटन बोर्डको रु ३३ लाख आर्थिक सहयोगमा उक्त सडकको निर्माण गरिएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ । पुतलीबजार नगरपालिका-१२ सुम्रेखोलादेखि लाम्पाटा पुलको मुखसम्मको झन्डै डेढ किलोमिटर सडकमा भण्डार-थोडुङ्ग निर्माण कम्पनीले नाला ह्यूमपाइप ग्राभेल बिछ्याएर निर्माण कार्य सम्पन्न गरेको छ ।
कम्पनीले आयोजनाको पेश्की बजेटबिना नै जिपी कोइराला पर्यटकीय मार्गलाई समयमै निर्माण गरेको जनाएको छ । सडक निर्माण भएपछि वर्षात्को समयमा समेत पर्यटकीय गाउँ सिरुबारी आवतजावत गर्न सजिलो हुने भएको छ । पर्यटकीय गाउँ सिरुबारीमा आवागमन सहज भएपछि सिरुबारी आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने स्थानीय पर्यटन व्यवसायी तथा पूर्व सांसद रुद्रमान गुरुङले बताउनुभयो । सडक निर्माण कार्य गरेको भण्डार-थोडुङ्ग निर्माण कम्पनीले सोही मार्गअन्तर्गतको लाम्पाटास्थित आँधीखोलामा पक्की पुलको निर्माण कार्य पनि गरिरहेको छ । पुल निर्माण भएपछि त्यस क्षेत्रमा उत्पादित कृषिजन्य उपज बजारसम्म पुर् याउन र बिक्रीवितरण गर्न सहजता आउने स्थानीयवासीले बताएका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home