Friday, March 6, 2009

वर खोज्दै पढेका युवती

स्याङ्जा, फागुन २३ - पुतलीबजारका मदन कुमाल ११ कक्षा पढ्दै गरेकी जेठी छोरीका लागि दुलाहा खोज्दै भौंतारिएका छन् । भर्खर १६ वसन्त टेकेकी छोरीका लागि ज्वाइँ खोज्न किन यस्तो हतारो ? 'बढी पढाउँदा योग्य वर पाइन्न,' उनले भने । विद्यालय पढ्दापढ्दै अधिकांश युवा वैदेशिक रोजगारमा गएकाले पढेका युवतीलाई योग्य वर पाउन मुस्किल परेको हो । परिणामतः उच्चशिक्षा पढेका युवती आफूभन्दा कम पढेकासँग लगनगाँठो कस्न बाध्य छन् । यहाँका गुरुङ, मगर, कुमाललगायत जनजातिमा आफ्नै जातभित्र विवाह गर्ने प्रचलन छ । 'तुरुन्तै लगनगाँठो कस्दिनुपर्छ,' कुमालले भने, 'बढी पढाउने इच्छा त छ नि, तर पढाइअनुसारकै ज्वाइँ पाउन मुस्किल पर्छ ।' गाउँका पढेका छोरीचेलीलाई 'मिल्दो' वर पाउनै मुस्किल परेको गुनासो गर्दै अर्का अभिभावक कुमाल मुक्तिमोर्चाका अध्यक्ष होमबहादुर कुमालले भने, 'योग्य वर नपाउने डरले युवतीहरूको चाँडै नै विवाह गरिदिने क्रम बढेको छ । 'धेरै पढेका युवतीले आफूभन्दा कम पढेका युवकसँग विवाह गर्न नमान्दा अभिभावकले कम्ती सास्ती खेप्नु पर्दैन,' उनले भने । अर्कोतर्फ आफूभन्दा बढी पढेकी युवतीसँग विवाह गर्न युवकहरूले नमान्ने पनि उनले बताए । 'युवतीहरू सकेसम्म जात मिल्ने र आफूभन्दा बढी पढेको युवकसँग विवाह गर्न चाहन्छन्,' उनले भने । 'आफूभन्दा कम पढेकोसँग त के विवाह गर्नु, सकेसम्म बढी पढेकै चाहिन्छ,' स्थानीय रमा कुमालले भनिन्, 'सबै कुरामा समानता हुनु पर्‍यो नि, विवाह भन्ने कुरा एक/दुई दिनका लागि होइन, जिन्दगी बिताउने हो ।' आफ्नो जातमा पढाइ मिल्दो युवक नभेट्नु र अन्तर्जातीय विवाह समाजमा स्वीकार्य नहुनुले समस्या उब्जाएको स्थानीय शंकर रोक्का बताउँछन् । 'जनजाति मात्र नभई बाहुन, छेत्रीमा समेत यो समस्या देखिएको छ,' रोक्काले भने, 'मेरा तीन छोरीको विवाह गर्ने उमेर भएको छ तर सुहाउँदो युवक पाएको छैन ।'