Thursday, July 3, 2008

घुम्न जाने हैन त ? मिर्मी ताल


कालीगण्डकी 'ए' जलविद्युत् आयोजनाको जलाशयमा स्याङ्जा, मिर्मीस्थित बाँधस्थलदेखि पर्वत, शालिग्राम गाविसको सेतीवेणी बजारसम्म सात किलोमिटरको दूरीमा व्यावसायिक रूपले जलयातायात सञ्चालन भइरहेको छ। यहाँ करिब एक दर्जन मोटरबोट र तीन दर्जन डुङ्गाले यात्रु ओसारपसार तथा मालसामान ढुवानी गर्दै आएका छन्।
जलाशयमा शालिग्राम क्षेत्र विकास समितिले २०५९ सालदेखि डुङ्गा र मोटरबोट सञ्चालन गर्न थालेको हो। आधा दर्जन जति संस्थाले स्याङ्जा जिविससँग अनुमति लिएर यातायातका साधन चलाउँदै आएका छन्। जल यातायातका साधनमा प्रति यात्रु रु.५० हजार बीमा समेत गरिएको छ। कालीगण्डकी जलाशयको जलयात्रा हालसम्म सडक यातायातले नछोएको पर्वतका एक दर्जन र स्याङ्जा, गुल्मी तथा बाग्लुङका केही गाविसका जनताका लागि सुलभ र सहज यातायातको साधन बन्न पुगेको छ।
शालिग्राम माविका प्रधानाध्यापक अशोक सिंह पाण्डे भन्छन्, “मोटरबोट चलाएपछि तीन घण्टाको पैदल दूरी आधा घण्टामा छोट्टिएको छ भने प्रति केजी रु.३ तिरेर खच्चडबाट सामान ल्याउने'लैजाने गर्दै आएका व्यापारीले २५ पैसामै ढुवानी गर्न पाएका छन्। यसले मालसमानको भाउ समेत सस्तो बनाएकोे छ।”

छोरीको आक्रमणबाट आमाको मृत्यु

असार २ गते / स्याङ्जाको किचनास गाउँ विकास समिति वडा नम्बर ७ घर भै ओरष्टे ८ स्थित माइतीघर बस्दैआएकी ४० वषीया दुगामाया थापा रानाको उनकै १५वषीया छोरीको घातक आक्रमणबाट मृत्यु भएको छ । स्थानीय भविष्य निर्माण माविमा कक्षा ७ मा पढ्ने १५ वषीया निरमाया थापा रानाले हिजो दिउँसो आमासँगको घरेलु झगडामा बञ्चरोको बिंडले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा निरमायालाई गाउँलेको सहयोगमा पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको छ । मृतक दुगामायाको शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा ल्याइएको छ ।

युवती झुन्डिएपछी स्याङ्जामा तनाब

2008-06-22,Sunday ६ प्रहरी र तीन सर्वसाधारण घाइते १८ वर्षीया युवतीको झुन्डिएर मृत्यु भएपछि शनिबार स्याङ्जास्थित सिद्धार्थ राजमार्गमा दिनभर तनाव भएको छ । स्थानीयवासी र प्रहरीबीच विवाद बढेपछि भएको झडपमा ६ प्रहरीसहित नौजना घाइते भएका छन् । घाइतेमध्ये स्थानीयवासी विजय गुरुङको पोखरा तथा सुरज राना र ठाकुर गुरुङको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।पुतलीबजार नगरपालिका- १२ स्थित त्रिभुवन आदर्श उच्चमावि कक्षा ११ मा अध्ययनरत अञ्जु गुरुङको शुक्रबार साँझ झुन्डिएर मृत्यु भएको थियो । अञ्जुका आफन्तले उनले आत्महत्या गरेको नभई हत्या भएको आरोप लगाएका छन् । अञ्जुको हत्या भएको भन्दै उनका आफन्तले दिनभर प्रहरी कार्यालय घेराउ गर्दै हत्यारालाई कारबाहीको माग गरेपछि झडप भएको थियो । प्रहरीले भीड नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय वालिङबाट दिउँसो थप बल मगाएपछि उनीहरू पछि हटेका थिए ।पुतलीबजार- १ का लोकबन्धु ढकालसँग अञ्जुको प्रेम-सम्बन्ध रहेको र ढकालले दुई महिनाअघि सामाजिक परम्पराअनुसार अर्की युवतीसँग विवाह गरेको स्थानीयवासीले बताएका छन् ।लोकबन्धु र अञ्जुबीच पुनः सम्बन्ध स्थापित हुँदै गएको र परिवारले सो थाहा पाएपछि प्रेमी-प्रेमिका दुवै तनावमा रहेको स्थानीयवासीले बताए । गत साता उनीहरूले सँगै मर्ने पत्र लेखी जंगलमा विषसेवन गरेको र पोखरामा उपचारपछि बिहीबार फर्केका थिए । 'हामी मर्दैछौं, मुख हेर्ने भए आउनू' भन्दै परिवारलाई खबर गरेको र खोज्न जाँदा जंगलमा आधा-आधा बिर्को मेटासिड खाएको अवस्थामा भेटेपछि उनीहरूको उपचार गरिएको थियो ।बिहीबार घर फर्केपछि जिल्ला प्रहरी कार्यालय लगिएका लोकबन्धु र अञ्जुलेे सँगै बस्ने बताएपछि उनीहरूलाई आफन्तको जिम्मामा पठाइएको प्रहरीले बताएको छ । प्रहरी कार्यालयबाट निस्केका उनीहरू सो रात केटाको साँहिला बुबाको घरमा बसेको र शुक्रबार बेलुकी ६ बजे सोही घरमा आफ्नै सलको पासो लगाएर युवती झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।युवतीको शव झुन्डिएकै अस्थामा छ भने केटी पक्ष, दल, पत्रकार र प्रहरी तथा नागरिक समाजका प्रतिनिधिबीच वार्ता चलिरहेको छ । घटना हत्या भएकाले हत्यारालाई अगाडि नउभ्याएसम्म लास नबुझ्ने केटी पक्षको अडान छ । स्याङ्जाका प्रहरी प्रमुख ईश्वरी चापागाईँ बिदामा रहेको र प्रमुख जिल्ला अधिकारी पोखरा घर आएका कारण समयमा वार्ता हुन नसकेकाले स्थानीयवासीले राजमार्ग अवरोध गरेका थिए । लोकबन्धु र उनकी श्रीमतीको बेहोस अवस्थामा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीले लोकबन्धुका बाबु दयारामसहित सातजना नातेदारलाई हिरासतमा लिएको छ ।